श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – परिचय

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< पाठकलाई निर्देशन

srivaishna-guruparamparai

भगवान श्रीमन्नारायणले संसारी जीवात्माहरुमाथि अकारण करुणा राख्दै ति जीवात्माहरुलाई यस संसारबाट मोक्ष प्रदान गर्नको लागि यस संसारको सृष्टी गर्ने समयमानै ब्रम्हाजीलाई  शास्त्र (वेद) को ज्ञान दिनुहुन्छ । वैदिकहरुको लागि वेद सर्वोच्च प्रमाणको श्रोत हो । प्रमाता (अाचार्य) ले नै प्रमाण (शास्त्र) को माध्यमबाट प्रमेय (भगवान) को निर्धारण गर्न सक्नु हुन्छ अर्थात भगवान सम्बन्धि विषयको पुष्टी गर्नुहुन्छ । जसरी भगवानको अखिल हेय प्रत्यनिक (सबै अनैतिक गुणहरुको विपरित) र कल्याणैकतानत्वं (सबै मंगलमय दिव्य गुणहरुको वासस्थान) गुणहरुले गर्दा भगवान अन्य सबै रचनाहरु भन्दा पृथक हुनुहुन्छ, त्यसरी नै वेद पनि निम्नबमोजिमका गुणहरुले गर्दा अन्य सबै प्रमाणहरु भन्दा पृथक हुनुहुन्छ ।

  • अपौरुषेय- जसको रचना कुनै जीवात्माले गरेको होइन । संसारको प्रत्येक सृष्टीको समयमा भगवानले वेदको ज्ञान ब्रम्हाजीलाई दिनुहुन्छ र तत्पश्चात ब्रम्हाजीले वेदको प्रचार गर्नुहुन्छ । त्यसैले वेद व्यक्तिबाट हुनसक्ने त्रुटीहरुबाट मुक्त छ ।
  • नित्य- वेद अनादि हुनुहुन्छ । वेदको न कुनै शुरुवात छ न त कुनै अन्त्य छ । वेदलाई भगवानले समय समयमा प्रकट गर्नुहुन्छ र भगवान वेदको विषयवस्तुसंग पूर्णतः परिचित हुनुहुन्छ ।
  • स्वत प्रामाण्य- वेद वा वेदको व्याख्यान आफैमा यथेष्ट अर्थात पूर्ण प्रमाण हुनुहुन्छ । वेदको प्रामाणिकता सिद्द अर्थात प्रमाणित गर्नको लागि अन्य कुनै श्रोतको अावश्यकता पर्दैन ।

वेद भनेको शास्त्रहरुको बृहत स्वरुप हुनुहुन्छ । भविष्यमा जीवात्माहरुको सीमित बौद्दिक क्षमतालाई मध्यनजर गर्दै भगवान वेद व्यासले वेदालाई ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेदमा विभाजन गर्नुभयो ।

वेदान्त वेदको सार हो । वेदान्त उपनिषदहरुको संकलन हो जसले भगवान सम्बन्धी जटील विषयहरुको चर्चा गर्दछ । उपनिषद ति महान् सन्त ऋषी महर्षीहरुको रचना हो जसले ब्रम्ह तत्वलाई विभिन्न पक्षहरुबाट विश्लेषण गर्नुभएको छ । वेदले आराधना पद्दतिको वर्णन गर्नुहुन्छ भने वेदान्तले हरेक आराधनाको लक्ष्य भगवान श्रीमन्नारायणको बारेमा चर्चा गर्नुहुन्छ । उपनिषदहरु धेरै छन् जसमध्ये तलका उपनिषदहरु मुख्य हुन् ।

  • एत्रेय
  • बृहदारण्यक
  • छान्दोग्य
  • ईशा
  • केन
  • कठ
  • कौशिदिकि
  • महा नारायण
  • माण्डुक्य
  • मुण्डक
  • प्रश्ण
  • सुभाल
  • श्वेताश्वतार
  • तैत्त्रीय

भगवान वेदव्यासले भाष्य गर्नुभएको ब्रम्ह सुत्र पनि वेदान्तको नै अंग हो किन भने ब्रम्ह सुत्र उपनिषदहरुको तात्पर्य सार हो । वेद अनन्त हुनुहुन्छ अर्थात अपरिमित अन्तहिन विशाल हुनुहुन्छ । त्यसैले वेदान्त पनि जटिल छ तर मानवको विवेक क्षमता सीमित छ । जसले गर्दा मानवले वेदान्तको अपव्याख्या गर्ने अर्थात गलत व्याख्या गर्ने सम्भावना बढी हुन्छ । यस कारणले हामीले वेद र वेदान्तलाई स्मृति, इतिहास र पुराणहरुको माध्यमबाट बुझ्ने प्रयास गर्नुपर्छ ।

  • मनु, विष्णु हारित, याज्ञवल्क्य अादि ऋषि महर्षिहरुद्वारा  संकलन गरिएकाे धर्म शास्त्रहरुहरुलाई स्मृति भनिन्छ ।
  • दुइ महाकाव्यहरु श्रीरामायण र श्रीमहाभारतको संग्रहलाई इतिहास भनिन्छ । श्रीरामायणलाई शरणागति शास्त्र भनिन्छ भने श्रीमहाभारतलाई पञ्चमवेद पनि भनिन्छ ।
  • पुराण भन्नाले ब्रम्हाजी द्वारा रचित ब्रम्ह पुराण, पद्म पुराण, विष्णु पुराण आदि जस्ता १८ पुराणहरु र तिनका अनेक उपपुराणहरुको संकलन बुझ्नुपर्छ । ति पुराणहरुमा ब्रम्हाजी स्वयं भन्नुहुन्छ कि उहाँ (ब्रम्हाजी) मा सत्व गुणको प्रभाव बढेको समयमा भगवान विष्णुको स्तुति गर्नुहुन्छ, उहाँमा रजोगुणको प्रभाव बढेको समयमा आफ्नै स्तुति गर्नुहुन्छ र तमोगुणको प्रभाव बढेको समयमा शिव, अग्नि आदि देवताहरुको स्तुति गर्नुहुन्छ ।

शास्त्रहरुबाट वास्तविक ज्ञान अार्जन गरी वास्तविक लक्ष्य प्राप्त गर्नुको सट्टा संसारीहरु सांसारिक तथा लौकिक आकांक्षा प्राप्त गर्न लागेको देखेर ति संसारीहरुलाई धर्मको मार्ग देखाउन भगवान स्वयं राम कृष्ण आदि अवतार लिइ यस धरातलमा अाउनुहुन्छ । तर संसारीहरु भगवानलाई चिन्दैनन र भगवानको अवहेलना गर्छन, भगवानसंग शत्रुता गर्छन । यस विषयलाई मनन गर्दै भगवानले जीवात्माहरुको उद्दारको लागि केहि विशेष जीवात्माहरुलाई नै दिव्य ज्ञान प्रदान गरेर यस संसारमा पठाउनु भयो । ति विशेष जीवात्माहरु नै आल्वारको रुपमा प्रसिद्द हुनुभयो । (आल्वारहरु भगवानको संकल्प अनुसार भगवानकै अंश स्वरुप यस संसारमा अर्थात दक्षीण भारतमा जीवात्माको रुपमा प्रकट हुनुभएकाे हो) । आल्वार भन्नाले भक्तिसागरमा अर्थात भगवत अनुभवमा डुब्नुभएका महापुरुष भन्ने अर्थ लाग्छ । आल्वारहरुमा प्रमुख नम्माल्वार अर्थात श्रीशठकोप स्वामी हुनुहुन्छ । श्रीशठकोप स्वामी प्रपन्न जन कुटस्थ, श्रीवैष्णव कुलपति आदि विशेषणद्वारा विभुषित हुनुहुन्छ । आल्वारहरुको संख्या १० छ । उहाँहरु यस प्रकार हुनुहुन्छ । पोइगइ आल्वार (सरोयोगी), पुतत्ताल्वार (भुतयोगी), पेइअाल्वार (महद्योगी), तिरुमञीसै अाल्वार (भक्तिसार), नम्माल्वार (शठकोप), कुलशेखर आल्वार, पेरीयाल्वार (भट्टनाथ), तोण्डरअडिप्पोडि आल्वार (भक्तांघ्रिरेणु), तिरुप्पाणी (योगीवाहान) र तिरुमंगै आल्वार (परकाल) । मधुरकवि आल्वार (श्रीशठकोप स्वामीजीको शिष्य) र आण्डाल (श्रीगोदादेवी) हरु पनि आल्वार गोष्ठीमा पर्नुहुन्छ । भगवानबाट परिपूर्ण मंगलाशासन प्राप्त गर्नुभएका आल्वारहरुले यस संसारमा दिव्य ज्ञान तथा भक्तिमार्गको प्रचार गर्नुभयो । उहाँहरु भगवत अनुभवमा ,चुर्लुम्म डुब्नु भएको भएता पनि उहाँहरुको मुख्य उद्देश्य भगवानको मंगलाशासन गर्नु नै थियो भन्ने कुरा उहाँहरुबाटै रचित दिव्य प्रबन्धहरुबाट प्रष्ट हुन्छ ।

आल्वारहरु वैकुण्ठ सवारी भए पश्चात पनि जीवात्माहरुलाई मोक्ष प्रदान गर्नको लागि भगवानले केहि विशेष आचार्यहरुलाई यस संसारमा अवतार गराउनु भयो । यस्ता महान आचार्यहरुको दिव्य सुगन्धी माला नाथमुनि स्वामीजी हुँदै श्रीवरवरमुनि स्वामीजी (मणवाल मामुनीगल) सम्म रहेको छ । (नाथमुनि स्वामीजी देखि वरवरमुनि स्वामीजी सम्मका अाचार्यहरुलाई पूर्वाचार्य भनिन्छ ),। यस्तो महान दिव्य सुगन्धी माला रुपी अाचार्य परम्पराको बिचमा भगवान भाष्यकार भगवद रामानुज स्वामीजी महाराज होइबक्सन्छ । श्रीरामानुज स्वामीजी महाराज अादिशेषको अवतार होइबक्सन्छ । श्रीरामानुज स्वामीजी महाराजले श्रीवैष्णव सम्प्रदाय र विशिष्टाद्वैत सिद्दान्तलाई नयाँ उचाइमा पुर्याउन विशेष नेतृत्व गर्नुभयो । पराशर, व्यास आदि महान ऋषि महर्षिहरुको रचनामा केन्द्रीत भइ श्रीरामानुज स्वामीजी महाराजले विशिष्टाद्वैत सिद्दान्तको प्रतिपादन गर्नुभयो । उहाँले ७४ सिंहाशनाधिपतिहरु (आफ्ना योग्य शिष्यहरु) को नियुक्ति गरी उहाँहरुलाई भगवान सम्बन्धि जीज्ञासु जन जनमा श्रीवैष्णव सम्प्रदाय पुर्याउन अर्थात प्रचार गर्न निर्देशन दिनुभयो । श्रीरामानुज स्वामीजीनै हामी सबैको मोक्ष प्रदाता तथा रक्षक हुनुभएको हुनाले यस श्रीवैष्णव सम्प्रदाय श्रीरामानुज दर्शनको रुपमा प्रसिद्द भयो । श्रीरामानुज स्वामीजी वैकुण्ठ सवारी भए पश्चात उहाँकै अपरावतारको रुपमा शेषावतार श्रीवरवरमुनी स्वामीजीको अवतार भयो । आल्वारहरुद्वारा रचित दिव्य प्रबन्धहरुको प्रचार प्रसार गर्नु श्रीवरवरमुनी स्वामीजीको अवतारको मुख्य कारण हो । श्रीरंगममा साक्षात भगवान रंगनाथले श्रीवरवरमुनी स्वामीजीलाई आफ्नो आचार्यको रुपमा स्वीकार गर्नुभयो र भगवानबाट शुरुभएको आचार्य परम्परा श्रीवरवरमुनी स्वामीजीमा परिपूर्ण गर्नुभयो । (गुरुपरम्पराको शुरुवात भगवानबाट शुरु भई श्रीवरवरमुनी स्वामीजीमा आएर समाप्त हुन्छ र तत्पश्चात आ आफ्नो गद्दी परम्परा अनुसारको गुरुपरम्परा तनियन प्रारम्भ हुन्छ ) । श्रीवरवरमुनी स्वामीजी महाराजको वैकुण्ठ सवारी पश्चात उहाँद्वारानै श्रीवैष्णव सम्प्रदाय चारै दिशामा प्रचार गर्नको लागि नियुक्त गरिनुभएका आफ्ना ८ अति प्रिय योग्य अष्ठदिग्गज शिष्यहरुबाट वर्तमान सम्म पनि यस श्रीवैष्णव सम्प्रदायको अनवरत रुपमा प्रचार प्रसार भैरहेको छ । उहाँ ८ अष्ठदिग्गज स्वामीजीहरुलाई नै ८ गद्दी भन्ने गरिन्छ । उक्त समयमा कुनै एक जनाबाट मात्रै यस सम्प्रदायको प्रचार प्रसार हुन कठीन देखेर श्रीवरवरमुनी स्वामीजीले आफ्नो अति प्रीय शिष्य श्रीपोन्नडिक्काल जीयर अर्थात श्रीवानमामलै रामानुज जीयर स्वामीजीको नेतृत्वमा उहाँ सहित अष्ठदिग्गज स्वामीजीहरुको चयन गर्नुभएको थियो । हालसम्म पनि आठै गद्दीका स्वामीजीहरुको परम्परा अनवरत चलिरहेकै छ र सदा सर्वदा चलिरहनेछ एवं पूर्वाचार्यहरुका ग्रन्थहरुको अनवरत प्रचार भैरहनेछ ।

आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

Source – http://ponnadi.blogspot.com/2015/12/simple-guide-to-srivaishnavam-introduction.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र)– http://granthams.koyil.org
प्रमाता (आचार्य)– https://guruparamparai.wordpress.com
श्रीवैष्णव बालबालिकाहरुको लागि– http://pillai.koyil.org

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s