Monthly Archives: January 2017

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – पञ्चस‌ंस्कार

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< परिचय

श्रीमहापूर्ण स्वामीजीले श्रीरामानुज स्वामीजीलाई समाश्रयण गराउनु हुँदै ।

 

श्रीवैष्णव कसरी बन्न सकिन्छ?

श्रीवैष्णव बन्नको लागि हाम्रा पूर्वाचार्यहरुले कार्यविधि तय गर्नुभएको छ । यस विधिले साधारण जीवात्मालाई श्रीसम्प्रदायमा प्रवेश गराउँदछ । यस विधिलाई पञ्चसंस्कार भनिन्छ ।

संस्कार भनेको शुद्दिकरणको प्रकृया हो । अशुद्द अवस्थाबाट शुद्द अवस्थामा रुपान्तरण गर्ने प्रकृया नै संस्कार हो । यहि विधिद्वारा हामी सर्वप्रथम श्रीवैष्णव हुन्छौं । जसरी ब्राम्हण परिवारमा जन्मेर ब्रम्ह यज्ञ विधिद्वारा ब्राम्हण बन्न सुलभ हुन्छ, त्यसरी नै श्रीवैष्णव परिवारमा जन्मेर पञ्चसंस्कार विधिद्वारा श्रीवैष्णव बन्न सुलभ हुन्छ । यहाँ ब्राम्हण परिवारको उदाहारण दिनुको तात्पर्य यो हो कि श्रीवैष्णव बन्नको लागि श्रीवैष्णव परिवारमा जन्म लिनु अावश्यक छैन तर ब्राम्हण हुनको लागि ब्राम्हण परिवारमै जन्मनु पर्दछ । श्रीवैष्णवत्व अात्मासंग जोडिएको विषय हो जबकी ब्राम्हणत्व शरीरसंग जोडिएको विषय हो । श्रीवैष्णव सम्प्रदायमा कोहि कसैलाई पनि जातका आधारमा, राष्ट्रियताका आधारमा, लिंगका अाधारमा, अार्थिक अवस्थाका अाधारमा र पारिवारिक अवस्थाका अाधारमा भेदभाव गरिंदैन । मोक्ष प्राप्तिको चाहना गर्ने जो कोहि पनि श्रीवैष्णव बन्न सक्दछन् । र, श्रीवैष्णव भैसके पश्चात ब्रम्हाजी, शिवजी, दुर्गाजी, इन्द्र, वरुण आदि देवी देवताहरुसंगको र ति देवीदेवताहरुको आराधना गर्ने मानिसहरुसंगको सत्संग त्याग्नु पर्दछ किनकि देवीदेवताहरु त भगवान श्रीहरिद्वारा यो संसार चलाउनको लागि खटाइएका विभिन्न विभागका प्रमुखहरु जस्तै हुनुहुन्छ ।

पञ्चसंस्कार

कुनै एक जीवात्मालाई श्रीवैष्णव बनाउनको लागि शास्त्रहरुमा उल्लेख गरिएको प्रकृयालाई पञ्चसंस्कार (समाश्रयणम्) भनिन्छ । ” “तापः पुण्ड्रः तथा नामः मन्त्रो यागश्च पञ्चमः भन्ने श्लोकले पञ्चसंस्कारको विविध पक्षहरुको बारेमा चर्चा गरेको छ । पञ्चसंस्कारका पाँच विशेष संस्कारहरु यस प्रकार छन् ।

  • ताप – शंख चक्र लगाउने प्रकृया – तप्त शंख र चक्रको छाप हाम्रो बाहुहरुमा लगाउने प्रकृया । शंख र चक्रले हामीलाई भगवानको वस्तुको रुपमा परिचित गराउँदछ । जसरी कुनै बस्तुमा त्यस बस्तुको मालिकको नाम लेखिएको हुन्छ त्यसरी नै श्रीवैष्णवहरुले भगवानको चिन्हहरुको धारण गर्नुपर्दछ किनकि हाम्रा मालिक स्वयं भगवान हुनुहुन्छ ।
  • पुण्ड्र – द्वादश उर्ध्व पुण्ड्र धारण – पुरुषले आफ्नो शरीरको १२ भागमा उर्ध्व पुण्ड्र ( तिलक र श्रीचूर्ण) धारण गर्ने र स्त्रीले निधारमा मात्र तिलक र श्रीचूर्ण धारण गर्ने ।
  • नाम – दास्य नाम – श्रीवैष्णव भैसके पश्चात आफ्नो आचार्यद्वारा दिइने नयाँ नाम – पुरुषले सो नामको पछाडि रामानुज दास भन्ने  र स्त्रीले सो नामको पछाडि रामानुज दासी भन्ने । जस्तै मधुरकवि रामानुज दास, गोदा रामानुज दासी ।
  • मन्त्र उपदेश – श्रीवैष्णव भैसके पश्चात आफ्नो आचार्यबाट गोप्य मन्त्र प्राप्त गर्नु । मन्त्रको जप गर्नाले दुखबाट मुक्ति मिल्दछ । आचार्यबाट प्राप्त गरिने मुलमन्त्र, द्वयमन्त्र र चरम मन्त्रले यस संसारबाट मोक्ष मिल्दछ ।
  • याग – भगवान सेवा – आफ्नो घरमा नित्य भगवानको अाराधना गर्ने ।

योग्यता

अकिन्चन (आफुलाई अयोग्य तथा असमर्थ मान्नु) र अनन्य गतित्व (अरु कुनै गति वा उपेय नहुनु ) जस्ता दुइ गुणहरु भगवानमा शरणागत हुुनको लागि आवश्यक योग्यताहरु हुन् । यी दुई गुणहरुबाट युक्त भइएमा मात्र हामी भगवानमा पूर्णतः शरणागत हुन सक्छौं र भगवानबाट हाम्रो उद्दार हुन सक्छ ।

पञ्चसंस्कारको उद्देश्यहरु

  • तत्व ज्ञानन् मोक्ष लाभः भनेर शास्त्रमा लेखिए बमोजिम मोक्ष प्राप्तिका लागि ब्रम्ह विषयको वास्तविक ज्ञान हुनु पर्दछ । आफ्नो आचार्यबाट मन्त्र उपदेशको एक प्रमुख अंग अर्थ पञ्चकको ज्ञान (ब्रम्ह- ईश्वर, जीवात्मा- आत्मा, उपाय- भगवानलाई प्राप्त गर्ने साधन, उपेय- परिणाम अर्थात भगवान, विरोधि- भगवान प्राप्तिमा बाधाहरु) प्राप्त गरेर मात्र हामी वास्तविक लक्ष्य प्राप्त गर्नको लागि योग्य हुन्छौं । त्यो वास्तविक लक्ष्य भन्नाले भगवान श्रीयपतिको लागि नित्य विभुतीमा सदा कैंकर्य गरिरहनु हो । र वास्तविक ज्ञान भन्नाले आफुलाई भगवानमा पूर्णरुपले आश्रित मान्नु हो । यस्तो ज्ञान र उपेय पञ्चसंस्कारबाट मात्रै प्राप्य छ ।
  • यस संसारमा रहँदा आफ्नो आचार्य र श्रीवैष्णवहरुको सेवा तथा दिव्यदेश एवं आ आफ्नो घरमा विराजमान अर्चावतार भगवानको सेवाको अवसर पञ्चसंस्कारको उद्देश्य हो ।
  • आफुले जानेको श्रीसम्प्रदाय सम्बन्धि विषय अरुहरुको उद्दारको लागि अरु जीवात्माहरुलाई पनि अवगत गराउनु पर्दछ । श्रीरामानुज स्वामीजीले सधैंभरिनै श्रीभाष्य र भगवत विषयको ज्ञान प्राप्त गरी सो ज्ञान अरुलाई बाँड्नको लागि आफ्ना शिष्यहरुलाई भनिरहनु हुन्थ्यो । श्री भाष्य र भगवत विषयको ज्ञान प्राप्त गर्न प्रथमतः पञ्चसंस्कार आवश्यक छ ।

जीवात्मा र परमात्माको मिलन गराउने कार्य आचार्यले गर्नुहुन्छ । वास्तवमा श्रीरामानुज स्वामीजीले र हाम्रा पूर्वाचार्यहरुले सदैव आफुलाई आचार्य निष्ठ देखाउनु भयो । आफुलाई हरेक क्षण आचार्यमा समर्पित गर्ने प्रपन्नहरुलाई आचार्य निष्ठ भनिन्छ । पञ्चसंस्कार पश्चात जीवात्माले वास्तविक तत्व बुझी आफुलाई भगवानमा शरणागत गराउने भएकाले पञ्चसंस्कारको दिनलाई जीवात्माको वास्तविक जन्म दिवस मानिन्छ । भगवान र जीवात्माको सम्बन्ध पति(भगवान) र पत्नी (जीवात्मा) को जस्तो भएकाले अन्य देवी देवताहरुको परित्याग गर्नै पर्छ किनकी एक पतिब्रता नारीले आफ्नो पति बाहेक अन्यको बारेमा सोच्न पनि सक्दिनन् ।

श्रीवैष्णव सम्प्रदायको प्रमुख सिद्दान्त भनेको यो संसारको परित्याग तथा परमपद वैकुण्ठको प्राप्ति जहाँ नित्य निरन्तर श्रीयपति भगवानको कैंकर्य गर्न पाइन्छ ।

पञ्चसंस्कार कसले गराउन सक्नुहुन्छ?

श्रीवैष्णव सिद्दान्त अनादि काल देखि चलि अाएको भएता पनि यो सिद्दान्तको पुनर्जागरण आल्वारहरु तथा आचार्यहरुबाट भएको हो । श्रीनाथमुनी स्वामीजी तथा श्रीयामुनाचार्य स्वामीजीहरुको निर्देशनलाई अाधार लिइ लामो समय देखि लुप्तप्राय अवस्थामा रहेको यस श्रीसम्प्रदायलाई शास्त्रहरुको अध्ययनद्वारा भगवत रामानुज स्वामीजी महाराजले पुनः स्थापित गर्नुभयो । श्रीरामानुज स्वामीजी महाराजले ७४ सिंहाशनाधिपतिहरुको स्थापना गरेर उहाँहरुलाई पञ्चसंस्कार दिने अख्तियारी प्रदान गर्नुभयो । यसरी ७४ सिंहाशनाधिपतिहरुको परम्पराबाट चलिअाउनु भएका आचार्यहरुले पञ्चसंस्कार दिन सक्नुहुन्छ । श्रीवरवरमुनी स्वामीजीले अष्ठदिग्गज स्वामीजीहरु (संन्यासी जीयर स्वामी तथा गृहस्थ स्वामीजीहरु ) को ८ गद्दी नियुक्त गर्नुभयो र ति ८ गद्दी अन्तर्गतका परम्परामा हुनुभएका स्वामीजीहरुले पञ्चसंस्कार दिन सक्नुहुन्छ ।

हामीले पञ्चसंस्कार अर्थात समाश्रयण प्राप्त गरेको । गर्ने दिनमा के गर्नु पर्छ ?

  • बिहान सबेरै उठ्ने ।
  • भगवान, आल्वारहरु र आचार्यहरुको ध्यान गर्ने । किनकी यो दिन हाम्रो वास्तविक जन्म दिवस हो ।
  • स्नान, उर्ध्वपुण्ड्र धारण तथा सन्ध्याबन्धन जस्ता नित्य कर्महरु गर्ने ।
  • समयमै आचार्यको मठमा जाने । फल, भगवान र आचार्यको लागि वस्त्र र तथा आफ्नो क्षमता अनुसारको सम्भावना अर्थात दक्षिणा लिएर जाने ।
  • समाश्रयण हुने ।
  • आचार्यको श्रीपादतिर्थ लिने ।
  • आचार्यको निर्देशनलाई ध्यान दिएर सुन्ने ।
  • आचार्यको मठमै प्रसाद पाउने ।
  • आचार्यको मठमै दिनभरी बसी आचार्यबाट सम्प्रदाय विषय यथाशक्य जान्ने ।
  • समाश्रयण भएको दिनमा आफ्नो कार्यस्थल जस्तै अफिस, व्यवसायमा जान हतार नगर्ने । यो दिन हाम्रो वास्तविक जन्म दिन भएकाले गुरुपरम्परा प्रति कृतज्ञ रहने ।

पञ्चसंस्कार प्रारम्भ हो वा अन्त्य हो ?

समाश्रयण एक साधारण कर्म हो र यो अन्त्य हो भन्ने भ्रम धेरैलाइ हुन्छ तर त्यस्तो होइन । समाश्रयण भनेको त श्रीवैष्णव जीवनको शुरुवात हो । अन्तिम लक्ष्य भनेको त भगवति महालक्ष्मीको पुरुषकारबाट श्रीमन्नारायण भगवानको सेवामा नित्त निरन्तर लाग्नु नै हो । यसको पद्दतिको बारेमा हाम्रा पूर्वाचार्यहरुले बताउनु भएको छ । सो पद्दति हो आफ्नो आचार्यको निर्देशन खुशीसाथ पालन गर्दै आचार्यको पुरुषकारद्वारा भगवानको प्राप्ति । हरेक जीवात्माले यो पद्दति आफ्नो दैनिक जीवनमा लागु गरेमा मोक्ष प्राप्त गर्दछ ।

मुमुक्षुप्पडि ग्रन्थको ११६ औ सुत्रमा श्री पिल्लै लोकाचार्य स्वामीजी श्रीवैष्णवहरुलाई निम्न बमोजिमका नियमहरु आज्ञा गर्नुहुन्छ ।

१ सबै सांसारिक बस्तुहरुको पूर्ण परित्याग ।

२ श्रीमन्नारायण भगवानलाईनै एकमात्र रक्षक मानी वहाँमै शरणागत हुनु ।

३ आफ्नो वास्तविक लक्ष्य (नित्य कैंकर्य) प्राप्तिमा परिपूर्ण विश्वाश राख्नु ।

४ आफ्नो वास्तविक लक्ष्य (नित्य कैंकर्य) प्राप्तिमा हरदम सधै लागिरहनु

५ यस संसारमा रहँदा दिव्य देशहरुमा विराजमान अर्चावतार भगवानको दिय्य गुणहरुको आनन्द लिंदै भगवत भागवत सेवामा मग्न रहनु ।

६ माथि उल्लेख भए बमोजिमका गुणहरुद्वारा युक्त भगवानका भक्तहरुलाई देख्दा खुशी हुनु र वहाँहरुसंगको सामीप्यताको इच्छा राख्नु ।

७ अष्टाक्षरी मन्त्र र द्वयमन्त्रको नित्य जप गरिरहनु ।

८ आफ्नो अस्मदाचार्यको सदैव भक्ति गरिरहनु ।

९ आचार्य र भगवान प्रति कृतज्ञ रहनु ।

१० ज्ञान, भक्ति र वैराग्यले सुसम्पन्न श्रीवैष्णवहरुको मात्र संगत गर्नु ।

अधिक जानकारीको लागि कृपया यो लिंक हेर्नुहोला  http://ponnadi.blogspot.in/2012/08/srivaishnava-lakshanam-5.html .

श्रीरामानुज स्वामीजी महाराजले पञ्चसंस्कारको पद्दतिलाई संस्थागत गर्नुभइ यसको प्रचार प्रसार समेत गर्नुभएकोमा हामी श्रीस्वामीजी प्रति सधैं कृतज्ञ रहनु पर्छ । श्रीस्वामीजीले हामीजस्ता अज्ञानी जीवात्माहरु प्रति अपार करुणा राख्दै हाम्रालागि मोक्ष मार्गको ढोका खोलिदिनु भयो ।

आल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – http://ponnadi.blogspot.com/2015/12/simple-guide-to-srivaishnavam-pancha-samskaram.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

Advertisements

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – परिचय

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< पाठकलाई निर्देशन

srivaishna-guruparamparai

भगवान श्रीमन्नारायणले संसारी जीवात्माहरुमाथि अकारण करुणा राख्दै ति जीवात्माहरुलाई यस संसारबाट मोक्ष प्रदान गर्नको लागि यस संसारको सृष्टी गर्ने समयमानै ब्रम्हाजीलाई  शास्त्र (वेद) को ज्ञान दिनुहुन्छ । वैदिकहरुको लागि वेद सर्वोच्च प्रमाणको श्रोत हो । प्रमाता (अाचार्य) ले नै प्रमाण (शास्त्र) को माध्यमबाट प्रमेय (भगवान) को निर्धारण गर्न सक्नु हुन्छ अर्थात भगवान सम्बन्धि विषयको पुष्टी गर्नुहुन्छ । जसरी भगवानको अखिल हेय प्रत्यनिक (सबै अनैतिक गुणहरुको विपरित) र कल्याणैकतानत्वं (सबै मंगलमय दिव्य गुणहरुको वासस्थान) गुणहरुले गर्दा भगवान अन्य सबै रचनाहरु भन्दा पृथक हुनुहुन्छ, त्यसरी नै वेद पनि निम्नबमोजिमका गुणहरुले गर्दा अन्य सबै प्रमाणहरु भन्दा पृथक हुनुहुन्छ ।

  • अपौरुषेय- जसको रचना कुनै जीवात्माले गरेको होइन । संसारको प्रत्येक सृष्टीको समयमा भगवानले वेदको ज्ञान ब्रम्हाजीलाई दिनुहुन्छ र तत्पश्चात ब्रम्हाजीले वेदको प्रचार गर्नुहुन्छ । त्यसैले वेद व्यक्तिबाट हुनसक्ने त्रुटीहरुबाट मुक्त छ ।
  • नित्य- वेद अनादि हुनुहुन्छ । वेदको न कुनै शुरुवात छ न त कुनै अन्त्य छ । वेदलाई भगवानले समय समयमा प्रकट गर्नुहुन्छ र भगवान वेदको विषयवस्तुसंग पूर्णतः परिचित हुनुहुन्छ ।
  • स्वत प्रामाण्य- वेद वा वेदको व्याख्यान आफैमा यथेष्ट अर्थात पूर्ण प्रमाण हुनुहुन्छ । वेदको प्रामाणिकता सिद्द अर्थात प्रमाणित गर्नको लागि अन्य कुनै श्रोतको अावश्यकता पर्दैन ।

वेद भनेको शास्त्रहरुको बृहत स्वरुप हुनुहुन्छ । भविष्यमा जीवात्माहरुको सीमित बौद्दिक क्षमतालाई मध्यनजर गर्दै भगवान वेद व्यासले वेदालाई ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेदमा विभाजन गर्नुभयो ।

वेदान्त वेदको सार हो । वेदान्त उपनिषदहरुको संकलन हो जसले भगवान सम्बन्धी जटील विषयहरुको चर्चा गर्दछ । वेदले आराधना पद्दतिको वर्णन गर्नुहुन्छ भने वेदान्तले हरेक आराधनाको लक्ष्य भगवान श्रीमन्नारायणको बारेमा चर्चा गर्नुहुन्छ । उपनिषदहरु धेरै छन् जसमध्ये तलका उपनिषदहरु मुख्य हुन् ।

  • एत्रेय
  • बृहदारण्यक
  • छान्दोग्य
  • ईशा
  • केन
  • कठ
  • कौशिदिकि
  • महा नारायण
  • माण्डुक्य
  • मुण्डक
  • प्रश्ण
  • सुभाल
  • श्वेताश्वतार
  • तैत्त्रीय

भगवान वेदव्यासले भाष्य गर्नुभएको ब्रम्ह सुत्र पनि वेदान्तको नै अंग हो किन भने ब्रम्ह सुत्र उपनिषदहरुको तात्पर्य सार हो । वेद अनन्त हुनुहुन्छ अर्थात अपरिमित अन्तहिन विशाल हुनुहुन्छ । त्यसैले वेदान्त पनि जटिल छ तर मानवको विवेक क्षमता सीमित छ । जसले गर्दा मानवले वेदान्तको अपव्याख्या गर्ने अर्थात गलत व्याख्या गर्ने सम्भावना बढी हुन्छ । यस कारणले हामीले वेद र वेदान्तलाई स्मृति, इतिहास र पुराणहरुको माध्यमबाट बुझ्ने प्रयास गर्नुपर्छ ।

  • मनु, विष्णु हारित, याज्ञवल्क्य अादि ऋषि महर्षिहरुद्वारा  संकलन गरिएकाे धर्म शास्त्रहरुहरुलाई स्मृति भनिन्छ ।
  • दुइ महाकाव्यहरु श्रीरामायण र श्रीमहाभारतको संग्रहलाई इतिहास भनिन्छ । श्रीरामायणलाई शरणागति शास्त्र भनिन्छ भने श्रीमहाभारतलाई पञ्चमवेद पनि भनिन्छ ।
  • पुराण भन्नाले ब्रम्हाजी द्वारा रचित ब्रम्ह पुराण, पद्म पुराण, विष्णु पुराण आदि जस्ता १८ पुराणहरु र तिनका अनेक उपपुराणहरुको संकलन बुझ्नुपर्छ । ति पुराणहरुमा ब्रम्हाजी स्वयं भन्नुहुन्छ कि उहाँ (ब्रम्हाजी) मा सत्व गुणको प्रभाव बढेको समयमा भगवान विष्णुको स्तुति गर्नुहुन्छ, उहाँमा रजोगुणको प्रभाव बढेको समयमा आफ्नै स्तुति गर्नुहुन्छ र तमोगुणको प्रभाव बढेको समयमा शिव, अग्नि आदि देवताहरुको स्तुति गर्नुहुन्छ ।

शास्त्रहरुबाट वास्तविक ज्ञान अार्जन गरी वास्तविक लक्ष्य प्राप्त गर्नुको सट्टा संसारीहरु सांसारिक तथा लौकिक आकांक्षा प्राप्त गर्न लागेको देखेर ति संसारीहरुलाई धर्मको मार्ग देखाउन भगवान स्वयं राम कृष्ण आदि अवतार लिइ यस धरातलमा अाउनुहुन्छ । तर संसारीहरु भगवानलाई चिन्दैनन र भगवानको अवहेलना गर्छन, भगवानसंग शत्रुता गर्छन । यस विषयलाई मनन गर्दै भगवानले जीवात्माहरुको उद्दारको लागि केहि विशेष जीवात्माहरुलाई नै दिव्य ज्ञान प्रदान गरेर यस संसारमा पठाउनु भयो । ति विशेष जीवात्माहरु नै आल्वारको रुपमा प्रसिद्द हुनुभयो । (आल्वारहरु भगवानको संकल्प अनुसार भगवानकै अंश स्वरुप यस संसारमा अर्थात दक्षीण भारतमा जीवात्माको रुपमा प्रकट हुनुभएकाे हो) । आल्वार भन्नाले भक्तिसागरमा अर्थात भगवत अनुभवमा डुब्नुभएका महापुरुष भन्ने अर्थ लाग्छ । आल्वारहरुमा प्रमुख नम्माल्वार अर्थात श्रीशठकोप स्वामी हुनुहुन्छ । श्रीशठकोप स्वामी प्रपन्न जन कुटस्थ, श्रीवैष्णव कुलपति आदि विशेषणद्वारा विभुषित हुनुहुन्छ । आल्वारहरुको संख्या १० छ । उहाँहरु यस प्रकार हुनुहुन्छ । पोइगइ आल्वार (सरोयोगी), पुतत्ताल्वार (भुतयोगी), पेइअाल्वार (महद्योगी), तिरुमञीसै अाल्वार (भक्तिसार), नम्माल्वार (शठकोप), कुलशेखर आल्वार, पेरीयाल्वार (भट्टनाथ), तोण्डरअडिप्पोडि आल्वार (भक्तांघ्रिरेणु), तिरुप्पाणी (योगीवाहान) र तिरुमंगै आल्वार (परकाल) । मधुरकवि आल्वार (श्रीशठकोप स्वामीजीको शिष्य) र आण्डाल (श्रीगोदादेवी) हरु पनि आल्वार गोष्ठीमा पर्नुहुन्छ । भगवानबाट परिपूर्ण मंगलाशासन प्राप्त गर्नुभएका आल्वारहरुले यस संसारमा दिव्य ज्ञान तथा भक्तिमार्गको प्रचार गर्नुभयो । उहाँहरु भगवत अनुभवमा ,चुर्लुम्म डुब्नु भएको भएता पनि उहाँहरुको मुख्य उद्देश्य भगवानको मंगलाशासन गर्नु नै थियो भन्ने कुरा उहाँहरुबाटै रचित दिव्य प्रबन्धहरुबाट प्रष्ट हुन्छ ।

आल्वारहरु वैकुण्ठ सवारी भए पश्चात पनि जीवात्माहरुलाई मोक्ष प्रदान गर्नको लागि भगवानले केहि विशेष आचार्यहरुलाई यस संसारमा अवतार गराउनु भयो । यस्ता महान आचार्यहरुको दिव्य सुगन्धी माला नाथमुनि स्वामीजी हुँदै श्रीवरवरमुनि स्वामीजी (मणवाल मामुनीगल) सम्म रहेको छ । (नाथमुनि स्वामीजी देखि वरवरमुनि स्वामीजी सम्मका अाचार्यहरुलाई पूर्वाचार्य भनिन्छ ),। यस्तो महान दिव्य सुगन्धी माला रुपी अाचार्य परम्पराको बिचमा भगवान भाष्यकार भगवद रामानुज स्वामीजी महाराज होइबक्सन्छ । श्रीरामानुज स्वामीजी महाराज अादिशेषको अवतार होइबक्सन्छ । श्रीरामानुज स्वामीजी महाराजले श्रीवैष्णव सम्प्रदाय र विशिष्टाद्वैत सिद्दान्तलाई नयाँ उचाइमा पुर्याउन विशेष नेतृत्व गर्नुभयो । पराशर, व्यास आदि महान ऋषि महर्षिहरुको रचनामा केन्द्रीत भइ श्रीरामानुज स्वामीजी महाराजले विशिष्टाद्वैत सिद्दान्तको प्रतिपादन गर्नुभयो । उहाँले ७४ सिंहाशनाधिपतिहरु (आफ्ना योग्य शिष्यहरु) को नियुक्ति गरी उहाँहरुलाई भगवान सम्बन्धि जीज्ञासु जन जनमा श्रीवैष्णव सम्प्रदाय पुर्याउन अर्थात प्रचार गर्न निर्देशन दिनुभयो । श्रीरामानुज स्वामीजीनै हामी सबैको मोक्ष प्रदाता तथा रक्षक हुनुभएको हुनाले यस श्रीवैष्णव सम्प्रदाय श्रीरामानुज दर्शनको रुपमा प्रसिद्द भयो । श्रीरामानुज स्वामीजी वैकुण्ठ सवारी भए पश्चात उहाँकै अपरावतारको रुपमा शेषावतार श्रीवरवरमुनी स्वामीजीको अवतार भयो । आल्वारहरुद्वारा रचित दिव्य प्रबन्धहरुको प्रचार प्रसार गर्नु श्रीवरवरमुनी स्वामीजीको अवतारको मुख्य कारण हो । श्रीरंगममा साक्षात भगवान रंगनाथले श्रीवरवरमुनी स्वामीजीलाई आफ्नो आचार्यको रुपमा स्वीकार गर्नुभयो र भगवानबाट शुरुभएको आचार्य परम्परा श्रीवरवरमुनी स्वामीजीमा परिपूर्ण गर्नुभयो । (गुरुपरम्पराको शुरुवात भगवानबाट शुरु भई श्रीवरवरमुनी स्वामीजीमा आएर समाप्त हुन्छ र तत्पश्चात आ आफ्नो गद्दी परम्परा अनुसारको गुरुपरम्परा तनियन प्रारम्भ हुन्छ ) । श्रीवरवरमुनी स्वामीजी महाराजको वैकुण्ठ सवारी पश्चात उहाँद्वारानै श्रीवैष्णव सम्प्रदाय चारै दिशामा प्रचार गर्नको लागि नियुक्त गरिनुभएका आफ्ना ८ अति प्रिय योग्य अष्ठदिग्गज शिष्यहरुबाट वर्तमान सम्म पनि यस श्रीवैष्णव सम्प्रदायको अनवरत रुपमा प्रचार प्रसार भैरहेको छ । उहाँ ८ अष्ठदिग्गज स्वामीजीहरुलाई नै ८ गद्दी भन्ने गरिन्छ । उक्त समयमा कुनै एक जनाबाट मात्रै यस सम्प्रदायको प्रचार प्रसार हुन कठीन देखेर श्रीवरवरमुनी स्वामीजीले आफ्नो अति प्रीय शिष्य श्रीपोन्नडिक्काल जीयर अर्थात श्रीवानमामलै रामानुज जीयर स्वामीजीको नेतृत्वमा उहाँ सहित अष्ठदिग्गज स्वामीजीहरुको चयन गर्नुभएको थियो । हालसम्म पनि आठै गद्दीका स्वामीजीहरुको परम्परा अनवरत चलिरहेकै छ र सदा सर्वदा चलिरहनेछ एवं पूर्वाचार्यहरुका ग्रन्थहरुको अनवरत प्रचार भैरहनेछ ।

आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

Source – http://ponnadi.blogspot.com/2015/12/simple-guide-to-srivaishnavam-introduction.html

archived in https://srivaishnavagranthamsnepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र)– http://granthams.koyil.org
प्रमाता (आचार्य)– https://guruparamparai.wordpress.com
श्रीवैष्णव बालबालिकाहरुको लागि– http://pillai.koyil.org